‘प्रेम गीत ३ ’ भारतमा पनि सोही नामबाट प्रदर्शन हुने, पोस्टर र प्रदर्शन मिति सार्वजनिक – Himalayan Dainik

‘प्रेम गीत ३ ’ भारतमा पनि सोही नामबाट प्रदर्शन हुने, पोस्टर र प्रदर्शन मिति सार्वजनिक


‘प्रेम गीत ३ ’ भारतमा पनि सोही नामबाट प्रदर्शन हुने, पोस्टर र प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नेपाली फिल्म प्रेम गीत ३ भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ। यसअघि विश्वजितम नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम प्रेम गीत – ३  नै रहने भएको हो।

फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। निर्माण टोलीले भारतका लागि नयाँ पोस्टर सार्वजनिक गरेको छ। जसमा ट्रेलर सार्वजनिक हुने मिति र फिल्म प्रदर्शनमा आउने मिति पनि उल्लेख गरिएको छ।

प्रेम गीत ३ को भारत प्रदर्शनका बारेमा भारतका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेका छन्। बलिउड हंगामा, युनाइटेड न्युज अफ इण्डिया लगायतका सञ्चार माध्यमले प्रेम गीत ३ को प्रदर्शनको समाचारलाई स्थान दिएका हुन्।

फिल्मलाई नेपाल र भारतको सहकार्यमा बनेको पहिलो नेपाली फिल्मको रुपमा पनि प्रचार गरिएको छ।

तर, नेपाल भारत सहकार्यमा बनेको पहिलो फिल्म प्रेम गीत ३ हो भन्नेमा भने दुई मत देखिएको छ। विज्ञहरुका अनुसार दुई देशको सहकार्यमा यसअघि विं। सं। २०४१ मै पञ्चवटी नामक फिल्म बनेको थियो।

शाही चलचित्र संस्थान र बासु भट्टाचार्य मिलेर बनाएको फिल्म भारतमा मात्रै प्रदर्शन भएको थियो।

योसँगै फिल्मको प्रचार प्रसार भारतमा पनि थालिएको छ। नेपालमा भने दुई हप्ता अघिदेखि फिल्मको औपचारिक प्रचार प्रसार थालिएको थियो। प्रदिप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म असोज ७ अर्थात सेप्टेम्बर २३ देखि प्रदर्शनमा आउँदैछ। सेप्टेम्बर १ मा फिल्मको ट्रेलर सार्वजनिक हुनेछ।

स्व. छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको फिल्मलाई निर्देशक सेन, सुवाष काले, प्रशान्त कुमार गुप्ता र मुरलिधर तिलवानीले निर्माण गरेका हुन्।