सरकारको कडाइ : विषादी हालेका फलफुल र मापदण्डमा पालना नगरि जारको पानी बेच्नेलाई कारबाही हुने – Himalayan Dainik

सरकारको कडाइ : विषादी हालेका फलफुल र मापदण्डमा पालना नगरि जारको पानी बेच्नेलाई कारबाही हुने


सरकारको कडाइ : विषादी हालेका फलफुल र मापदण्डमा पालना नगरि जारको पानी बेच्नेलाई कारबाही हुने

काठमाण्डौ – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भएरनभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

वर्षायाममा पानीका कारण हैजा, झाडापखालाजस्ता सरुवा रोग फैलने भएकाले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा सफा र स्वस्थ खानेकुरा खान विभागको आग्रह छ । यस्तै विभागले जथाभावी रसायन र विषादी हालेर फलफूल बिक्री गर्नेलाई पनि कारबाही गर्ने भएको छ । फलफूल पकाउन कार्बाइड (एसिटिलिन ग्यासको ) प्रयोग नगर्न आग्रह गर्दै विभागले कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीका लागि राख्न निषेध गरिएको उल्लेख गरेको छ ।

विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले व्यवसायीलाई रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका स्वीकृत रसायनको तोकिएको विधि अनुसार गर्न समेत सचेत गराउनु भएको छ । आँपलगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा केमिकल राखेको पाइएमा विभागमा उजुरी गर्न पनि उहाँको अनुरोध छ । फलफूल खाँदा राम्ररी सफा पानीले पखालेर खान पनि महानिर्देशक डा. वैद्यको सल्लाह छ ।