बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा – Himalayan Dainik

बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा


बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ – बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो ।

आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।

यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ । भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको छ ।

गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्ग(बि–१३ को मार्ग) र उमाकुण्ड–लक्षिणमूर्तितर्फका बाटोमा गाडी प्रवेश निषेध गरिएको हो । यस्तै नियमित आवागमन हुने गाडीलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट व्यवस्थापन गरिने कोषले जनाएको छ ।