संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्छु : सभामुख सापकोटा – Himalayan Dainik

संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्छु : सभामुख सापकोटा


संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्छु : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने बताएका छन्।

आज बिहान स्पेनबाट स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संसद् सूचारुका गर्न पहल गर्ने बताएका हुन्। उनले सर्वदलीय बैठक गरेर समस्या समाधान गर्न पहल गर्ने बताए।

यस्तै उनले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासम्बन्धी विवाद समाधानको उपाय खोजिने पनि बताए। ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु’, पत्रकारको जिज्ञासामा सभामुख सापकोटाले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर म त्यसमै केन्द्रित भएर लाग्नेछु।’

अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख यही मंसिर ८ मा स्पेन गएका थिए।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई, संघीय संसदका महासचिव डाक्टर भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन केसी र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं थिए।