कांग्रेसको १४औं महाधिवेशन : सुदूरपश्चिममा देउवा पक्षका प्रतिनिधि ७० प्रतिशत भन्दा बढी – Himalayan Dainik

कांग्रेसको १४औं महाधिवेशन : सुदूरपश्चिममा देउवा पक्षका प्रतिनिधि ७० प्रतिशत भन्दा बढी


कांग्रेसको १४औं महाधिवेशन : सुदूरपश्चिममा देउवा पक्षका प्रतिनिधि ७० प्रतिशत भन्दा बढी

काठमाडौं – नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन गरिसकेको छ ।

ती जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि समेत चयन भइसकेका छन् । प्रदेश १ र कर्णालीका सबै जिल्लाका अधिवेशन सम्पन्न भएका छन् । प्रदेश २ मा भने नेतृत्व चयन गर्न ८ जिल्लामा बाँकी छ ।

यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । यी जिल्ला अधिवेशन अन्यौल भए पनि महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन् ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ । त्यहाँ पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बाँके बाहेका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । बाँकेमा पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन् ।

प्रदेश २ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ । आजदेखि प्रदेश अधिवेशन शुरू हुने भएकाले १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

जिल्ला अधिवेशन भएका ६२ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएका छन् । पौडेल पक्षले ६२ जिल्ला मध्ये २९ जिल्लामा रामचन्द्र पौडेल निकट सभापतिहरुले जित हात पारेका छन् । सभापति शेरबहादुर देउवानिकट २८ सभापति निर्वाचित भएका छन् भने कृष्ण सिटौलानिकट दुई जना र बिमलेन्द्र निधिनिकट एक जना सभापति निर्वाचित भएका छन् ।

दुई जना सभापति आफू सर्वसम्मत भएको भन्दै आफू कुनै पक्षमा नभएको बताएका छन् । जाजरकोटका सभापति वेदराज सिंह र रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले आफु कुनै पक्षमा नभएको बताएका हुन् ।

जिल्ला सभापतिमा एक जना मात्र बढि हात पारेको पौडेल पक्षमा महाधिवेशन प्रतिनिधिको संख्या भने झण्डै झण्डै ६० प्रतिशत भन्दा बढि रहेका पाइएको छ ।

प्रदेश नम्बर एकका धेरै निर्वाचन क्षेत्र भएका जिल्ला झापा, मोरङ र सुनसरीमा देउवा पक्ष कमजोर भन्दा पौडेल पक्षमा ५६ दशमलब ३६ प्रतिशत महाधिवेशन प्रतिनिधि रहेका छन् । झापामा पूर्वमहामन्त्री कृष्ण सिटौला पक्ष बलियो देखिएको छ भने दोश्रोमा पौडेल पक्ष देखिएको छ ।

सभापति देउवानिकट महाधिवेशन झापामा अत्यन्तै न्यून रहेका छन् । अझ प्रवक्ता विश्वप्रकाश शर्मा सभापति देउवा समुहमा नहुँदा झापामा देउवा पक्ष शुन्य हुने देखिएको छ ।

मोरङ र सुनसरीमा पौडेल पक्ष निकै अगाडि रहेको छ भने दुई निर्वाचन क्षेत्र रहेको उदयपुर र इलाममा देउवा पक्ष अलि अगाडि देखिएको छ । एउटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगा, पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुमा सभापति देउवा पक्षले हात पारेपनि महाधिवेशन प्रतिनिधि भने ओखलढुंगामा मात्र देउवा पक्ष अगाडि देखिएको छ ।

बागमती प्रदेशका काठमाडौं चितवन जस्ता धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि पौडेल पक्षको एकलौटी जस्तै देखिएको छ । दोलखा, धादिङ, नुवाकोट, सिन्धुली, रामेछापमा पनि पौडेल पक्ष एकलौटी देखिएको छ ।

मकवानपुर, सिन्धुपाल्चोक, रसुवा र काभ्रेको एउटा क्षेत्रमा देउवा पक्षको पकड देखिएको छ । धेरै निर्वाचन क्षेत्र भएको जिल्लामा पौडेल पक्षका झण्डै झण्डै ५७ प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधि आएका छन् ।

गण्डकी प्रदेशमा सभापति देउवा पक्ष भन्दा पौडेल पक्ष धेरै अगाडि देखिएको छ । गण्डकी प्रदेशमा ६५ प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधि पौडेल पक्षमा देखिएका छन् । कास्की, तनहुँ, पर्वतमा पौडेल पक्षका सभापति पराजित भएपनि महाधिवेशन प्रतिनिधि भने यी जिल्लामा धेरै अगाडि देखिएका छन् ।

लुम्बिनी प्रदेशका धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरु दाङ, कपिलबस्तुमा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि ७० प्रतिशत भन्दा बढि रहेका छन् । बर्दियामा पौडेल पक्षका सभापति पराजीत भए पनि महाविधेशन प्रतिनिधि भने वराबरी जस्तै रहेका छन् । बाँके र रुपन्देहीमा महाधिवेशन प्रतिनिधि देउवा पक्षका बढि देखिएका छन् ।

त्यस्तै दुई निर्वाचन क्षेत्र भएका लुम्बिनी प्रदेशका जिल्लाहरु पाल्पा, गुल्मीमा पौडेल पक्षको बर्चश्व देखिएको छ । एउटा निर्वाचन क्षेत्र रहेको अर्धाखाँची, रुकुम पूर्व, रोल्पा र प्यूठानमा पनि पौडेल पक्ष हाबी भएको छ । यसले गर्दा लुम्बिनी प्रदेशबाट ५५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि पौडेलको पक्षमा देखिएका छन् ।

कर्णाली प्रदेश प्रदेशमा अघिल्लो महाधिवेशनमा भन्दा यो पटक पौडेल पक्ष अलि कमजोर देखिएको छ । सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्काका कारण पौडेल पक्ष कमजोर देखिएपनि सुर्खेतमा भएको घाटा पौडेल पक्षले दैलेखबाट परिपूर्ती गरेको छ । बाँकी रहेका जिल्ला मध्ये कालीकोट, जुम्ला र जाजरकोटमा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि बढि रहेका छन भने हुम्ला, डोल्पा र सल्यानमा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढि आएका छन् । कर्णालीमा दुवै पक्षका महाधिवेशन प्रतिनिधि हाराहारी रहेका छन् ।

सुदुरपश्चिम प्रदेशमा सभापति शेरबहादुर देउवा धेरै अगाडि देखिएका छन् । सुदुरपश्चिम प्रदेशको बाजुरा, बझाँङ, दार्चुला र बैतडिमा पौडेल पक्ष अगाडि देखिएको छ । तर धेरै निर्वाचन क्षेत्र रहेको कैलाली, कञ्चनपुर र डोटीमा देउवा पक्ष हावि हुँदा पौडेल पक्ष ३० प्रतिशत महाविधेशन प्रतिनिधिमा खुम्चन बाध्य भएको छ ।