सार्वजनिक यातायातमा जीपीएस ट्र्याकिङ – Himalayan Dainik

सार्वजनिक यातायातमा जीपीएस ट्र्याकिङ


सार्वजनिक यातायातमा जीपीएस ट्र्याकिङ

काठमाडौँ,१४ मंसिर – लामो दुरीमा चल्ने सार्वजनिक यातायातलाई यातायात व्यवस्था विभागले जीपीएस ट्र्याकिङ गर्ने भएको छ ।

विभागले परीक्षणस्वरूप १७ वटा बसमा जीपीएस जडान गरिसकेको छ । एक सयवटा सवारीमा निःशुल्क सेवा दिएर जडान गरिने विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो ।  उहाँले भेहिकल ट्र्याकिङ सिस्टमबाट अहिले प्रत्यक्ष रूपमा अनलाइनबाट नियमन गरिरहेको जानकारी दिनुभयो । एक सातामा सयवटा गाडीमा निशुल्क जडान गरेर त्यसपछि सबै सार्वजनिक गाडीमा जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका सवारीमा जीपीएस सुरु गरिएको छ । जीपीएस लागूू गरिएपछि नियन्त्रण कक्षबाट देशभरका सार्वजनिक सवारी व्यवस्थापन र नियमन गर्न सकिनेछ ।विभागका अनुसार ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छन् । राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले नियमन गर्ने हुँदा सवारी दुर्घटना कम हुने महानिर्देशक घिमिरेको भनाइ छ ।

जीपीएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै हुनेछ । गाडीको गति र स्थानको जानकारी हुनेछ । साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ । नियमन र अनुगमन प्रभावकारी भई ट्राफिक व्यवस्थापनमा सहज हुने विभागको भनाइ छ ।

विश्व बैङ्कको सहयोगमा पाइलट परियोजनाका रूपमा जीपीएस जडान गरिन लागेको हो । सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ ।