मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी, ​सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने – Himalayan Dainik

मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी, ​सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने


मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने मिस नेपाल युएस प्रतियोगिताका लागि १० अन्तिम प्रतिस्पर्धी छनौट भएका छन् । सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने प्रतियोगिताबाट मिस नेपाल युएस २०२१ को घोषणा गरिनेछ ।
सेप्टेम्बरको पहिलोसातासम्म प्राप्त आवेदनका आधारमा मिस नेपाल युएसका टपटेन प्रतिस्पर्धीहरु छनौट गरिएको हो । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगितामात्र नभई एउटा सामाजिक अभियानका रुपमा रहदै आएको छ ।
सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।
मिस नेपाल युएसले अमेरिककी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।
इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
मिस नेपाल युएस २०२१ का टप टेन प्रतिस्पर्धीहरु : मिस नेपाल युएस २०२१ को टपटेनमा पुग्न सफल हुने प्रतिस्पर्धीहरु अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।