मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क, ट्रेडमार्क पाउने नेपाली सौन्दर्य प्रतियोगिता पहिलो र एकमात्र – Himalayan Dainik

मिस नेपाल युएसलाई अमेरिकामा ट्रेडमार्क, ट्रेडमार्क पाउने नेपाली सौन्दर्य प्रतियोगिता पहिलो र एकमात्र


झण्डै १० बर्षसम्मको प्रकृया र लडाईपछि मिस नेपाल युएसले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने मिस नेपाल युएस पहिलो र एकमात्र रहेको छ । सन् २०१७ को अक्टोबरमा आवेदन दिइएपनि अहिलेमात्र मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।

यस अगाडि मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिएपनि मिस युसएएले दावी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ए अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फरबरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भएपनि सफल हुन सकेन ।

सन् २०१७ को जुनमा मिस नेपाल युएबाट फुटेर गएको एउटा टिमले ड्रिम युनिभर्सल एलएलसीका तर्फबाट ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । तर सफल हुन सकेन ।

त्यसपछि उक्त टिमले सन् २०१८ मा मिस नेपाल नर्थ अमेरिकाका रुपमा ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेको थियो । उक्त प्रयास पनि सफल हुन सकेन । बरु मे ३१ मा मिस नेपाल नर्थ अमेरिकाका नाममा खारेजी पत्र जारी भएको थियो । त्यसपछि पनि सन् २०१९ र २०२१ मा मिस नेपाल नर्थ अमेरिका प्रतियोगिता भने गरिएको थियो ।

अमेरिकामा नेपाली सम्बन्धित सौन्दर्य प्रतियोगिताका लागि मिस नेपाल एलएलसीले मिस नेपाल युएसको ट्रेडमार्क प्राप्त गर्न सफल भएकोमा यसका संस्थापक अमित शाहले खुशी व्यक्त गरेका छन् । साथै १० बर्ष लामो आफ्नो प्रयास सफल भएको समेत उनले बताएका छन् ।