सांसद बस्नेतद्वारा १८ भगवानको मुर्तिसहितको देवालय उद्घाटन – Himalayan Dainik

सांसद बस्नेतद्वारा १८ भगवानको मुर्तिसहितको देवालय उद्घाटन


सांसद बस्नेतद्वारा १८ भगवानको मुर्तिसहितको देवालय उद्घाटन

भक्तपुर – नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हिन्दु धर्मावलम्बीहरुले पुजा गर्ने १८ वटा भगवानको मुर्तिसहितको रणबम पाटी, विश्राम स्थल तथा आत्मा सुद्धिकरण देवालयका उद्घाटन गर्नुभएको छ ।

सांसद बस्नेतको प्रमुख आतिथ्यतामा सोमवार कृष्णजन्मास्टमीको अवसरमा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थिती बस्नेत गाउँ डोकाथलीमा नवनिर्मित रणबम पाटी विश्राम स्थल तथा आत्मासुद्धिकरण देवालयको समुद्घाटन एक समारोहका सम्पन्न भएको छ । संघीय सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नगपालिका तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष), तथा स्थानीयवासीको सहयोगमा संयुक्त रुपमा ८४ लाखको लागतमा उक्त देवालयको निर्माण गरिएको हो । बुढानिलकण्ठ, पलाञ्चोक भगवती, मनकामना, विन्दवासिनी, नवदुर्गा, वगलामुखी, राधाकृष्ण, लक्ष्मी, स्वरस्वती, कुमार, गणेशलगायतका भगवानहरुको मूर्तिसहितको देवालय निर्माण गरिएको छ । त्यस्तै हिन्दुहरुको तिहार पर्वको यमपञ्चकका सवै दिनहरुको समेत पुज्ने सन्देशमुलक देवालयको निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा भूकम्प पछिको पुनःनिर्माण करिव सम्पन्न भइसकेको बताउनुभयो । कम्युनिष्टहरुले मठमन्दिर भत्काउँछन्, धर्मकर्म मान्दैनन भनि झुट प्रचार गरेको उल्लेख गर्दै नेता बस्नेतले जनताले जे मान्छन् त्यो नै कम्युनिष्टले मान्ने बताउनुभयो । कम्युनिष्टको लागि जनता नै भगवान हुन भनि मदन भण्डारी, जनताको बहुदलीय जनवाद (जबज) तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मान्यता रहेको उल्लेख गर्दै एमालेले भौतिक पूर्वाधारको साथमा धार्मिक, सांस्कृतिक, पर्यटन, स्वास्थ्यलगायतको विकासलाई समेत उच्च प्राथमिकता दिएको उदाहरण सहित प्रस्तुत गर्नुभयो ।

भक्तपुरमा अबको एक वर्षभित्रमा ८, ११, १४ मिटरलगायतका ठूला सडकहरु कालोपत्रे भइसक्कने दावी गर्दै नेता बस्नेतले सडकसँगै पुल, खानेपानी तथा ढलहरु समेत निर्माण सम्पन्न हुने बताउनुभयो । ठूला सडकहरु निर्माणको लागि टेण्डर भइसकेको जानकारी गराउँदै नेता बस्नेतले विकास सँगै चेतनाको विकास हुन जरुरी रहेको बताउनुभयो । चेतनाको विकाससँगै आद्यात्मीक तथा भौतिक विकास हुने उहाँले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले जिल्लाको इतिहासमा भएको विकासभन्दा कम्युनिष्ट पार्टीको नेतृत्वकर्ताले नेतृत्व गरेसँगै ऐतिहासिक विकास र समृद्धिका कार्यहरु भएको दावी गर्नुभयो । नगरपालिकाले लिएको ६०–४० को नीति अनुसारका कुनै पनि आयोजनको लागि बजेट खाँचो नहुने उल्लेख गर्दै उहाँले अगरपालिकाको नीति अनुसारका योजनाहरु तिव्र गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो । उहाँले उक्त देवालयको निर्माणको लागि ५५ हजार पाँच सय ५५ रुपैंया सहयोग समेत गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख सरिता कुँवर, नगपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, धार्मिक अभियान्ता अभिषेक जोशीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।