सत्तारूढ गठबन्धनको बैठक सकियो – Himalayan Dainik

सत्तारूढ गठबन्धनको बैठक सकियो


सत्तारूढ गठबन्धनको बैठक सकियो

काठमाडौँ – सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

सत्तारूढ गठबन्धनबीच एक राज्यमन्त्रीसहित ६ मन्त्रालय लिएर समान हैसियतमा सरकारमा रहने भन्ने सरकार गठन नहुँदैको समझदारी हो । त्यो सहमझदारीलाई सरकार गठनपछि सहमतिका रूपमा लिइए पनि त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण बनेको छ । मंगलबार बिहान बसेको शीर्ष नेताहरूको बैठक पनि भागबन्डा मिलाउन असफल भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलका दोस्रो तहका नेताहरूसहित बसेको बैठकमा मन्त्रालय भागबन्डामा सहमति नजुटे पनि प्रमुख चार नेताको अर्को बैठक राख्ने सहमति भने भएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्को बैठकको मिति त तोकिएको छैन तर प्रधानमन्त्रीसहित दलका अध्यक्षहरू मात्रको बैठक बसेर सहमति निर्माण गर्ने सहमति भएको छ । त्यो बैठक आजै वा भोलि बिहान बस्नेछ । स्रोतका अनुसार भोलि साँझसम्म मन्त्रालयको भागबन्डा मिलाइए पनि सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्म मन्त्रीहरूको शपथ भने हुने छैन ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको डर सबैभन्दा बढी जनता समाजवादी पार्टी (जसपा)मा देखिएको छ । मन्त्री बन्नकै लागि महन्थ ठाकुर पक्षबाट उपेन्द्र यादवसँग आएका नेताहरूदेखि यादव पक्षकै नेताहरू समेत मन्त्री नबन्नेबित्तिकै विद्रोह गर्न सक्ने डर जसपामा छ ।