पोउवा संघको पहलमा उद्योगी, व्यवसायीलाई खोप – Himalayan Dainik

पोउवा संघको पहलमा उद्योगी, व्यवसायीलाई खोप


पोउवा संघको पहलमा उद्योगी, व्यवसायीलाई खोप

पोखरा  – पोखरा उद्योग वाणिज्य संघको पहलमा सदस्य उद्योगी÷व्ववसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीले कोभिड–१९ विरुद्धको खोप पाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा नै १४ सयजनालाई कोभिडविरुद्धको भेरोसेल खोप उपलब्ध गराइएको हो । पोखरा उद्योग वाणिज्य संघले लामो समयदेखि अत्यावश्यक सामानको बिक्री बितरण गर्ने,औद्योगिक क्षेत्र तथा पर्यटन उद्योगसँग आवद्ध मजदुर तथा उद्योगी÷व्यवसायीहरुलाई खोप उपलब्ध गराउनुपर्ने माग राख्दै आएको थियो ।

‘दैनिक सयौं उपभोक्तालाई आवश्यक पर्ने सामानहरु उपपलब्ध गराउँदै आएका हाम्रा व्यावसायिक प्रतिष्ठानहरु कोभिड फैलाउने केन्द्र नबनून भन्नेतर्फ हामीले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराएका थियौँ’, खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने,‘अहिले थोरैले भएपनि खोप पाउनु भएको छ, हामी उद्योगी÷व्यवसायीलाई खोप उपलब्ध गराउने निकायहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।’

अध्यक्ष कोइरालाका अनुसार खोपको सुनिश्चितताको लागि संघले गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । संघका पूर्वअध्यक्ष तथा गण्डकीका कानून, संचार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित संघका अध्यक्ष नारायण कोइराला, वाणिज्य तर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई,विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई नै भेटेर खोपको माग गरिएको थियो । अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटनसँग आवद्ध कर्मचारीले खोप पाउनु सुखद भएको उनले बताए ।

‘गण्डकीका माननीय मन्त्री विन्दुकुमार थापासहित पोखरा उद्योग वाणिज्य संघले गरेको आग्रहमा स्वास्थ्य राज्यमन्त्री सकारात्मक हुनुभयो, उहाँसँगको समन्वयमा प्रदेश सरकार,जिल्ला कोभिड व्यवस्थापन समिति, प्रदेश स्वास्थ्य निर्देशनालय,पोखरा महानगरको स्वास्थ्य महाशाखा, सबैको सदासयताले यहाँका उद्योगीरव्यवसायीले खोप पाएका हुन्’, अध्यक्ष कोइरालाले भने,‘हालसम्म गण्डकीका ६ हजार ७ सय व्यवसायीले खोप पाउनु खुुसीको कुरा हो ।’ अध्यक्ष कोइरालाका अनुसार पोखरा उद्योग वाणिज्य संघले १हजार ४ सय, पोखरा पर्यटन परिषदको समन्वयमा २ हजार ५ सय,पोखरा औद्योगिक क्षेत्रमा १ हजार,लेखनाथ उद्योग वाणिज्य संघमा ९ सय तथा पोखरा चेम्बर अफ कमर्ससँग आवद्ध ९ सय व्यवसायीले खोप पाएका छन् । उनले आउँदा दिनमा थप व्यवसायीहरुलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिवद्धजना पनि जनाए ।

संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलका अनुसार यसअघि नै उमेर समूहअन्तर्गत केही व्यवसायीहरुले खोप लगाइसकेका छन् भने प्रतिष्ठानमा अग्रमोर्चामा रहने कर्मचारीले पनि खोप पाएसँगै व्यावसायिक क्षेत्र केही ढुक्क हुने अवस्था सिर्जना भएको छ । उनले खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गराउने सबैलाई धन्यवाद दिँदै सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरे ।

संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार संघको सचिवालयमा संचालित खोप कार्यक्रमको गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा तथा पर्यटन,उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्मासहित कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पनि निरीक्षण गरेका थिए । पोखरा पर्यंटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा काठमाडौंसम्म पुगेर खोपको माग गरिएको स्मरण गर्दै खोप अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउने धारणा राखे ।