अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा – Himalayan Dainik

अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा


अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

बेनी – पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो ।वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो  खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रे भिरलगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँहरुमा जान हिँडेका यात्रु समस्यामा परेका थिए ।

सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।बन्द सडक खुले पनि पहिरोका जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन । प्रहरी निरीक्षक गुरुङले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको  बताए । रासस