टुक्रे योजनाले समस्या, दिगो समाधानका लागि सबैको प्रयास आवश्यक : उपप्रमुख खड्गी श्रेष्ठ – Himalayan Dainik

टुक्रे योजनाले समस्या, दिगो समाधानका लागि सबैको प्रयास आवश्यक : उपप्रमुख खड्गी श्रेष्ठ


टुक्रे योजनाले समस्या, दिगो समाधानका लागि सबैको प्रयास आवश्यक : उपप्रमुख खड्गी श्रेष्ठ

काठमाडौँ, १२ साउन  – सानोतिनो झरीमा पनि काठमाडौँको न्यु प्लाजा क्षेत्र डुब्न थालेपछि स्थानीयहरु समस्यामा परेका छन् । गएको बर्षसम्म त यस्तो समस्या थिएन । यो बर्ष त अप्ठ््यारै भइसक्यो । हिजो (साउन ११) समस्याको समाधान खोज्न भेला भएका स्थानीयले उपप्रमुख प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष कुश ढकाललाई बोलाएर आफ्ना पीर सुनाए । पानी पर्न थालेपछि डिल्लीबजार सिम्रिक गल्लीतिरबाट आएको खुल्ला ढलले एकैछिनमा डुवाउँछ । पुतलीसडक मोडबाट अनामनगरतर्फको सडक खण्ड जलमग्न हुन्छ । समस्या सुनाउँदै उनीहरुले भने, न्युप्लाजाबाट सिंहदरबार, रामशाहपथ हुँदै टुकुचा पु¥याइएको ढलको न्युप्लाजाबाट अगाडि कुन अवस्थामा छ हेर्न पाइँदैन । सिंहदरबारभित्र प्रवेश गर्न हाम्रो पहुँच पुगेन, ढलको बाटो त्यही हो । यसको निकास नभइ सडक क्षेत्रको डुवान रोकिँदैन । समस्याको समाधानका लागि आफ्ना दृष्टिकोण राख्दै उनीहरुले भने, गएको बर्ष पुतली सडकतर्फको ठूलो ढल बनाउँदा कुमारी बैङ्क अगाडि न्युप्लाजाबाट ३ फुटको ढल जोड्न सक्ने ठाउँ बनाइएको छ । बाँसघारी ओरोलोबाट करीव ३ सय मिटर ३ फुटको ढल जडान गर्ने हो भने माथिल्लो भागको समस्या समाधान हुन्छ ।

स्थानीयको कुरा सुनेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, ढल निकासको समस्या समाधान गर्न पहिले प्रारम्भिक अध्ययन, त्यसपछि प्राविधिक अध्ययन गरेर दिगो समाधान खोज्ने बताउनुभयो । हिजो टुक्रे योजनामा काम गर्दा आज यो अवस्था आएको हो । अहिले हतार गरेर भोलि तुरुन्तै समस्या आउने गरी काम नगरौँ । सबै सहभागी बनौँ र दिगो समाधान खोजौँ । त्यसक्षेत्रबाट सिंहदरबार प्रवेश गरेको ढलको बाटो थाहा पाउन आफूले सिंहदरबार क्षेत्रमा प्रवेश नपाएकोले अलमल परेको स्थानीयको गुनासो सम्बोधन गर्दै उपप्रमुख खड्गी श्रेष्ठले, त्यसका लागि महानगरले समन्वय गर्ने बताउनुभयो । त्यस क्रममा वडाध्यक्ष कुश ढकालले भन्नुभयो, मेरो वडाका २ ठाउँमा ढल निकासको समस्या छ । एउटा घट्टेकुलोमा एउटा न्युप्जाला क्षेत्रमा । हिजो ज्ञान पनि भएन र प्लान पनि गरिएन । त्यही भएर आज यो खालको समस्या भएको हो । हामी योजना बनाउँछौँ, तपाईँहरु योजना कार्यान्वयनमा सहभागी हुनोस् । यसको समाधानमा आज देखि नै लागौँ । त्यस क्रममा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले, न्युप्लाजामा ढलको समस्या समाधान गर्न सिंहदरबार जोडिएको क्षेत्र र माथिल्लो क्षेत्र दुईवटै लाइनमा समाधान खोज्नुपर्ने बताउनुभयो । ०७१ सालमा यस ठाउँमा ढल सुधारको योजना गरिएको हो । त्यस बेला पनि सिंहदरबारभित्र ढलको अवस्था हेर्न नसकेर त्यस बाहिरी क्षेत्रमा काम गरियो । अब काम गर्दा विगतको त्यो अनुभवबाट थप काम गर्नुपर्छ । अहिले यस क्षेत्रका कतै १६ इञ्च त कतै १८ इञ्चका ढल राखिएका छन् । यी ढलको क्षमताले भ्याउँदैन । सरकारका पूर्वसचिव शितलबाबु रेग्मीले समस्याको कारण बताउनुभयो ।

स्थानीयकाअनुसार न्युप्लाजा क्षेत्रमा करीब ३ सय घर छन् । तीमध्ये कतिपय घरहरुमा होस्टल चलेका छन् । हरेक जसो घरमा कुनै न कुनै कार्यालय चलेका छन् । ठूला शैक्षिक संस्थाहरु निर्माण भइरहेका छन् । जमिनको माथिल्लो भागमा मानिसहरुको चाप बढेको बढ््यै छ । उनीहरुले उत्पादन गरेको तरल फोहोर बग्ने जमिन मुनिका संरचना पुराना छन् । तिनको समयमा मर्मत हुन सकेको छैन । त्यसैले पानी परेका बेला सडक र घरको तल्लो तला डुवान हुने समस्या अहिले सहरका धेरै मानिसले भोग्दै आएका छन् ।