प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई – Himalayan Dainik

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई


प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई

काठमाडौँ, १४ जेठ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धमा परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश दिनुभएको थियो । जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवारबाट सुनुवाइ हुनेछ । विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् ।

रिट निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ । संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षरसहित निवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।