पत्रकारको रोजगारी नखोस्न महासंघको चेतावनी – Himalayan Dainik

पत्रकारको रोजगारी नखोस्न महासंघको चेतावनी


पत्रकारको रोजगारी नखोस्न महासंघको चेतावनी

काठमाडौँ, ७ जेठ – कोभिड १९ महामारीको समयमा नेपाल पत्रकार महासंघले पत्रकारलाई कामबाट ननिकाल्न नीजी सञ्चार गृहलाई चेतावनी दिएको छ । दोस्रो लहरमा पनि नीजी सञ्चार गृहहरूले श्रमजिवी पत्रकारहरूलाई निकाल्न थालेको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको छ ।

महासंघका महासचिव रोशन पुरीले महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे । उनले कोभिड(१९(को पहिलो लहरमा जस्तो दोश्रो लहरमा पनि पत्रकारहरूलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित पत्रकारहरूको निम्ती महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।

महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुर्ननियुक्तिसमेत गराएको महासचिव पुरीले जानकारी दिए । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिनभित्र पत्रकारहरूको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले जानकारी दिए ।

‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुर्ननियुक्ति गरेको छौँ, उनले भने, ‘कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक काम गरिरहेका छौँ । श्रम समस्यासँग जोडिएका ५ सञ्चारमाध्यमलाई ७ दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरूलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब पनि दिएका छौँ ।’