कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय – Himalayan Dainik

कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय


कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय

विराटनगर, २३ वैशाख – प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट २५ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणको कारणबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा खटाई कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय भएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिनुभयो । साथै कोभिड १९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

मन्त्री परिषदको बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ ।