बेइजिङमा मनाए नेपाली नयाँ वर्ष – Himalayan Dainik

बेइजिङमा मनाए नेपाली नयाँ वर्ष


बेइजिङमा मनाए नेपाली नयाँ वर्ष

ऐजेन्सी,४ वैशाख – नयाँ वर्ष २०७८ साल आरम्भ भएको शुभ अवसरमा बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा चीनमा रहेका नेपालीहरूले नयाँ वर्षको शुभकामना साटासाट गरी बैशाख ३ गते शुक्रबार नव वर्ष मनाएका छन् ।

कोरोना महामारीलाई नियन्त्रणमा लिइसकेको चीनमा हाल एक प्रान्तबाट अर्को प्रान्तमा आवतजावत गर्न सहज भइसकेको अवस्थामा दूतावासको उक्त कार्यक्रममा बेइजिङबाहेकका अरू सहर र प्रान्तबाट पनि नेपालीहरू सहभागी हुनआएका थिए ।साथै बेइजिङमा रहेका अधिकाँश नेपालीले कोरोनाविरूद्धको पहिलो खोप पनि लगाइसकेको अवस्थामा खोप लगाएपछिको अवस्थाबारे पनि चर्चापरिचर्चा गरेका थिए ।केहीलाई निद्रा लागिरहने त कसैले पहिलो दिन वान्ता भएको पनि सुनाए ।  सहज रूपमा छिटोभन्दा छिटो नेपाल आवतजावत गर्न पाइयोस् भन्‍ने सबैको इच्छा थियो ।

ट्रान्स हिमालयन मैत्री समाज नेपालका अध्यक्ष डा.खराजीव झा भने राष्ट्रपतिबाट आफूले प्राप्त गरेको सुप्रबल जनसेवाश्री (तृतीय) पदक थाप्‍न जान नसकेकोमा दुःख व्यक्त गर्दै थिए ।यसै बीच राजदूत महेन्द्रबहादुर पाण्डेले मञ्चमा नै बोलाएर झालाई बधाई पनि दिए ।साथै कार्यक्रमलाई सर्वप्रथम राजदूत पाण्डेले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्तव्य राखे । सो क्रममा गत साल नेपालसहित संसारभर नै कोरोनाभाइरसको महामारीले सताएको भन्दै संसारको इतिहास हेर्दा यस्ता नकारात्मक पक्षबाट सकारात्मक उपलब्धि प्राप्त भएको औंल्याए ।

उक्त रात्री भोजसहितको सो शुभकामना आदानप्रदान कार्यक्रममा केही चिनियाँ अतिथिसहित चीनमा अध्ययन, व्यापार तथा विभिन्‍न पेशमा संलग्‍न गरी करिब डेढ सय नेपालीको उपस्थिति थियो ।