महेश बस्नेतको पहलमा भक्तपुरमा तीन आयोजनाको लागि अर्थ मन्त्रालयले छुट्टायो ३ अर्ब ४२ करोड – Himalayan Dainik

महेश बस्नेतको पहलमा भक्तपुरमा तीन आयोजनाको लागि अर्थ मन्त्रालयले छुट्टायो ३ अर्ब ४२ करोड


महेश बस्नेतको पहलमा भक्तपुरमा तीन आयोजनाको लागि अर्थ मन्त्रालयले छुट्टायो ३ अर्ब ४२ करोड

भक्तपुर, २८ चैत – विगतका नेतृत्वको समयमा भक्तपुरमा ५० लाख बजेट ल्याउन समेत नसकिने अवस्था थियो । जसले गर्दा केन्द्रीय राजधानीको रुपमा रहेको काठमाडौँ उपत्यकाभित्रकै जिल्ला भए पनि विकास र समृद्धिको यात्रामा दुर्गम जिल्ला वा ठाउँ जस्तै पहिचान बोकेको थियो भक्तपुरले ।

जिल्लाका जनताले विकास देख्नको लागि काठमाडौँ जानुपर्ने अवस्था थियो । जसमा मुख्य समस्या थियो, नेतृत्व र काम गर्ने इच्छाशक्ति । जनतप्रतिनिधिले जनताको लागि भन्दा पनि आफ्नो र आफ्नो आसपासका व्यक्तिमा सिमित हुनु नै मुख्य समस्या रहेको थियो । आफन्तवादमा रुमलिएका जनप्रतिनिधिले गर्दा जनताको तिव्र विकास र समृद्धिको यात्रामा कालो बादल लागेको थियो, जनताको चाहना तुसारापात भइरहे, भविष्य अन्धकारमय बनिरहयो ।

जनताको मुर्छित सपनालाई विपनामा परिणत गर्न वर्तमान जनप्रतिनिधिहरु लागि परिरहेका छन् । तीन वटै तहका जनप्रतिनिधिको सक्रियतासँगै जिल्लामा विकासका आयोजना सुचारुमात्र भएका छैनन्, जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी व्यवहारिकतामा नै रुपान्तरण भएका छन् । जसले गर्दा जनताको विकास प्रतिको तिर्खा दिन प्रतिदिन मेटिँदै गइरहेको छ ।

भुकम्पले तहसनहस भएको शहरी क्षेत्र तथा कोरोनाका कारण डामाडोल भएको मुलुकको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै जिल्लामा सञ्चालित कुनै पनि आयोजनाहरुलाई बजेटको अभाव हुन पाएन । बजेट अभावका कारण आयोजनालाई स्थगित गर्नुपर्ने अवस्था हालसम्म आएको छैन । बजेट कटौती हुने त कुरै नगरौं । बरु थपिने क्रम भने निरन्तर चलिरहेको छ । जिल्लामा भौतिक विकासको साथमा मानविय सोचको समेत विकासलाई उच्च प्राथमिकता दिइएको छ । भौतिक विकास भएरमात्र परिवर्तन सम्भव छैन भन्ने कुरालाई मध्यनजर गर्दै सामाजिक मनोविज्ञानलाई समेत परिवर्तनको खाँचो रहेको भन्दै समयको माग र आवश्यकता अनुसार चारै तिरबाट समृद्ध भक्तपुर, सुखी भक्तपुरवासीको परिकल्पनाका साथ कामहरु भइरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा जिल्लामा साना तथा ठूला सडक, पुल, खानेपानी, ढललगायतका अन्य भौतिक संरचनाहरु दैनिक जसो शिलान्यास र उद्घाटनको चरणमा रहेका छन् । त्यस्तै जिल्लाकै विकासको मेरुदण्डको रुपमा रहेको हनुमन्ते करिडोर, आधुनीक वीर अस्पताल, प्राणी उद्यान केन्द्र, रंगशाला, कर्वोड हल, स्मार्ट सिटी, आधुनिक सभागृहलगायतका दर्जनौं राष्ट्रिय गौरव सरहका योजनाहरु सञ्चालन भइरहेका छन् । जसले गर्दा भक्तपुरका जनताको सदियौंदेखीको सपना पुरा हुने भएको छ ।

चालु आर्थिक वर्षमा साना ठूला गरी करिव ६ अर्व बराबरका आयोजनाहरु भक्तपुरमा चालु अवस्थामा रहेका छन् । यसका साथै बुधवार सांसद बस्नेतकै पहलमा एकै पटक तीन अर्व ४२ करोड बरावरको योजनाहरुलाई स्वीकृत भएको छ । अर्थमन्त्री विष्णु पौडेल, सांसद बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, चाँगुनारायण नगरापलिकाका प्रमुख सोमप्रसाद मिश्र, एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजालगायतको टोलीसँग भएको छलफलले जिल्लामा सडक बिस्तार तथा स्तरउन्नतिको लागि १ अर्ब ८२ करोड, प्रस्तावित वीर अस्पतालजाने सडक निर्माण गर्न सल्लाघारी दुवाकोट चाँगुनारायण मा बि हुँदै जाने सडकको लागि ४२ करोड तथा बाल्कोट, दधिकोट, सिरुटार, गुण्डु, कटुन्जे स्मार्ट सिटी निर्माणको डी पी आर स्वीकृत गरि आयोजना सुरु गर्न १ अर्ब बजेटको ब्यबस्थाप गरी कुल ३ अर्ब ४२ करोड बिनियोजन भएको छ ।

योसँग अबका दिनमा भक्तपुरले विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खोज्ने अवस्था आएको सांसद बस्नेतले बताउनुभयो । अर्थमन्त्री पौडेललाई विशेष धन्यवाद दिँदै सांसद बस्नेतले भक्तपुरको विकासमा आउने कुनै पनि समस्यालाई ठाउँको ठाउँ समाधान गरी प्रभावकारी, दिर्घकालित तथा स्थायीत्व प्रदान गर्ने गरी आयोजना सञ्चालन हुने बताउनुभयो । विकासको काममा कसैले राजनीति नगर्न आग्रह गर्दै सांसद बस्नेतले विकासको नाममा राजनीति गरी अवरोध गर्न खोजे जनताले प्रतिकार गर्ने बताउनुभयो । जिल्लामा आएको बजेट फिर्ता जान नदिने उद्घोषका साथ सांसद बस्नेतले अब भक्तपुरको विकासमा यो वा त्यो बहाना नचल्ने स्पष्ट पार्नुभयो ।