चिनी उत्पादन घट्यो – Himalayan Dainik

चिनी उत्पादन घट्यो


चिनी उत्पादन घट्यो

काठमाडौँ, २५ चैत

चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो । क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।

चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो । उत्पादन घट्नुमा यति मात्र कारण नरहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने उनको भनाइ छ ।

 अग्रवालका अनुसार १० वर्ष अघिसम्म नेपालमा २ लाख ६० हजार मेट्रिक टनसम्म चिनी उत्पादन हुने गर्दथ्यो । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।