भक्तपुरमा बिस्केट जात्रा मनाउन रोक – Himalayan Dainik

भक्तपुरमा बिस्केट जात्रा मनाउन रोक


भक्तपुरमा बिस्केट जात्रा मनाउन रोक

भक्तपुर ,२४ चैत्र  – भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।

कोरोना संक्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हाे ।केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस संक्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ ।

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ ।भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको संख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।