विश्वमै १२ औं स्थानमा आइपुग्यो भारत, ७० हजारभन्दा धेरै संक्रमित – Himalayan Dainik

विश्वमै १२ औं स्थानमा आइपुग्यो भारत, ७० हजारभन्दा धेरै संक्रमित


विश्वमै १२ औं स्थानमा आइपुग्यो भारत, ७० हजारभन्दा धेरै संक्रमित

काठमाडौं, ३० वैशाख – नेपालको छिमेकी मुलुक भारतले विश्वभर फैलिएको कोरोनाको संक्रमित संख्यामा उद्गमस्थल चीनभन्दा पछाडि विश्वकै १२ औं स्थानमा आइपुगेको छ । पछिल्ला दिनमा तीब्रतर गतिमा संक्रमितको संख्या बढ्दै गएको भारतमा हालसम्म ७० हजार ७ सय ६८ जना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार ६ सय भन्दा बढी नयाँ संक्रमित देखिएको भारतमा हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । भारतमा पछिल्ला दिनमा ज्यादै तीब्र गतिमा कोरोना फैलिएको छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ४२ लाख ५० हजार ८ सय ६२ पुगेको छ भने २ लाख ८६ हजार ९ सय ८६ ले ज्यान गुमाइसकेका छन् ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ । हालसम्म अमेरिकामा १३ लाख ८५ हजार २ सय ६५ जना संक्रमित देखिएका छन् भने ८१ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि धेरै संक्रमित हुनेमा स्पेन, रसिया, युके, इटाली, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की र इरान क्रमशः रहेका छन् भने मृत्यु हुनेमा अमेरिका पछि युके, इटाली, स्पेन, फ्रान्स, ब्राजिल, जर्मनी, टर्की र रसिया रहेका छन् । त्यस्तै नेपालमा हासम्म १ सय ३४ जनामा संक्रमण देखिएको छ ।