कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका – Himalayan Dainik

कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका


कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका

काठमाडौँ, ३० वैशाख – सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् । ती सवारीमा कम्तीमा पनि तीन/तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ । एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ । तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन ।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ । थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ । तर त्यतिले मात्रै पर्याप्त देखिँदैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।