चिनियाँ राष्ट्रपति सीको सफलतामा आमाको प्रेरणा महत्त्वपूर्ण, मातृदिवसमा सीले यसरी सम्झिए आमा – Himalayan Dainik

चिनियाँ राष्ट्रपति सीको सफलतामा आमाको प्रेरणा महत्त्वपूर्ण, मातृदिवसमा सीले यसरी सम्झिए आमा


चिनियाँ राष्ट्रपति सीको सफलतामा आमाको प्रेरणा महत्त्वपूर्ण, मातृदिवसमा सीले यसरी सम्झिए आमा
काठमाडाैँ, २९ वैशाख – चीनको केन्द्रीय टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपति सि चिन फिङ्गको बाल्यकालमा उनकी आमासँग बिताएको समयको संस्मरण र आमाले सिकाएको ज्ञानगुनका कुराले सीलाई जीवनमा कसरी फाइदा पुर्यायो भन्ने कुराको बयान गर्दै एउटा संस्मरणात्मक लेख प्रकाशित गरेको छ ।

चिनियाँ राष्ट्रपति सीकी आमा छि सिनले सधैँ छोरालाई भन्ने गर्थिन्– “घरपरिवार पहिलो कक्षाकोठा र आमाबुबा बच्चाहरूको पहिलो गुरु–गुरुआमा हुन् ।” आमाको उक्त भनाइले राष्ट्रपति सीको मनमा आजसम्म पनि गहिरो प्रभाव पारिरहेको छ ।

सन् १९५९मा खिचिएको सी परिवारको तस्बिर ।

“अभिभावक र मान्यजनहरूले आफ्ना बालबालिकालाई सानैदेखि राम्रा नैतिक शिक्षा दिनुपर्छ जसले उनीहरूलाई सानैमा नैतिकरुपमा निष्ठावान र सद्भावको चेतना निर्माण गर्न मद्दत गर्छ”, श्रीमती छिले कुनै बेला छोरालाई भनेकी थिइन्– “जसले गर्दा उनीहरू देश र सर्वसाधारण जनताको लागि योगदान दिनसक्ने हुन्छन् ।”

राष्ट्रपति सीकी आमा छिको जन्म सन् १९२६ मा भएको थियो । १७ वर्षको उमेरमा सन् १९४३ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को सदस्यता लिएर पार्टीको मूल्यमान्यता र विश्वासको कट्टर समर्थक बनेकी थिइन् । आमा छिले ५/६ वर्ष जतिका सीलाई पूर्ण निष्ठाका साथ देशको सेवा गर्न प्रेरित गरेको कुरा सीले स्मरण गरेका छन् । जसका लागि छोरा सीलाई पिठ्युमा बोकेर किताब पसल गई आमा छिले चिनियाँ जनरल यूए फैको कथाको किताब किनिदिएकी थिइन् । घर पुगेपछि आमाले छोरा सीलाई किताबमा उल्लेख गरिएको कथा सुनाउँदै जनरल यू फैकी आमाले उनको छोराको पिठ्यूमा चार अक्षरको टाटु खोपिदिएको र ती अक्षरले “पूर्ण इमान्दार भएर देशको सेवा गर्नु” भन्ने अर्थ राख्ने कुरा सिकाइन् ।

“पिठ्यूमा टाटु खोप्दा एकदमै पीडा भएको थियो होला है भनेर मैले त्यसबेला मेरी आमालाई सोधेको थिएँ”, सीले स्मरण गरे– “आमाले प्रस्ट पार्दै एकदमै पीडादायी भए तापनि उसको भित्री आत्माले कहिल्यै उक्त कुरा बिर्सन सकेन भन्नुभयो ।” सीले त्यसै बेलादेखि जीवनको लक्ष्यमा पुग्नका लागि आजका दिनसम्म पनि ती प्रेरणादयी शब्दहरुको उपयोग गरिरहेका छन् ।

राष्ट्रपति सि चिन फिङ्ग आमा छि सिनसँग । 

आमा छिले सधैँ सरल जीवन बिताइन् । उनको सरल जीवन पारिवारिक परम्पराको रुपमा स्थापित भयो । परिवारका सदस्यहरुको स्याहार सुसारमा जस्तोसुकै कष्ट आइपरे पनि उनकी आमाले काममा कहिले पनि सम्झौता गरिनन् । आमाको जीवनशैली र पारिवारिक वातावरणले सीको मूल्यमान्यताहरूलाई आजसम्म पनि निर्देशित गरेको पाइन्छ ।

आमा छिले छोरा सीलाई आत्मानुशासनको पाठ स्मरण गराउँदै चिठी पठाउँने गर्थिन् । “जुन मानिसले उसलाई सदाचार र आत्मानुशासित हुनबाट असफल बनाउँछ ऊ हिम्मतबिहिन बन्नेछ,” आमाले लेखेको एउटा चिठीमा भनेकी छिन्– “शक्ति, पद र लगावप्रति सही दृष्टिकोण स्थापित गर्ने क्रममा इमान्दारीता आशिर्वाद र लोभ अभिषाप हो भन्ने कुरा सधैँ मनमा लिइराख्नू ।” सीले आमाका ती भनाइहरुलाई उनको विचारधारा र शासन अभ्यासमा लागूसमेत गरेका छन् ।

सीले आफ्नो घरपरिवारको बारेमा एकदमै ध्यान दिन्छन्, तर देशकै सर्वाेच्च नेताको रुपमा सार्वजनिक विदाका दिनहरुमा समेत घरमा पाइला टेक्न उनलाई धेरै नै मुस्किल पर्छ । सन् २००१ को चिनियाँ नयाँ वर्ष वसन्त चाडमा शुभकामना दिने क्रममा फोन गरेर आमाले छोरा सीलाई उनले निष्ठापूर्वक गर्ने काम र जिम्मेवारी नै बुबा आमाप्रतिको सच्चा सम्मान हुने बताएकी थिइन । आमाका ती मर्मस्पर्शी वचनले सीलाई आम चिनियाँ परिवारले राम्रो जीवन बिताउन पाउने लक्ष्य प्राप्तिमा सेवा गर्न ठूलो प्रेरणा मिल्यो । सीले आम चिनियाँ जनतालाई, उनकै शब्दमा, “आफ्नै जन्म दिने आमा बाबुलाई जस्तै माया गर्ने” कुरा बारम्बार बताउँदै आएका छन् ।

सन् १९७५ मा खिचिएको सी परिवारको फोटो (बसेको) आमा छि सिनसँग राष्ट्रपति सी ।

श्रीमती छिले कठिन समयमा अरु धेरै प्रतिकूलताको सामना गर्नुपर्यो । यद्यपि दृढ र ममतामयी आमाको रुपमा उनले परिवारका सदस्यहरुको हेरचाहमा ध्यान पुर्याइन् । आमाको अटलत विश्वासका कारण परिवारका सबै सदस्यहरु हरेक कठिन मोडमा दृढताका साथ उभिन सकेका थिए । समय र विभिन्न पदीय जिम्मेवारीका बाबजुत राष्ट्रपति सी उनका आमाका प्रेरणादायी उपदेशलाई आफ्नो विश्वासमा अड्याइरहेका छन् । साभार दैनिकडकम

(मे १० मा परेको मातृदिवसमा चीनको केन्द्रीय टेलिभिजन सीसीटीभीले अंग्रेजी भाषामा तयार पारेको समाचार ध्रुव पाैडेलले नेपालीमा अनुवाद गर्नुभएको हो ।)