राष्ट्रवादमा केवल वक्तव्यको विषय होइन, परिणाममुखी हुनुपर्छ : सभापति देउवा – Himalayan Dainik

राष्ट्रवादमा केवल वक्तव्यको विषय होइन, परिणाममुखी हुनुपर्छ : सभापति देउवा


राष्ट्रवादमा केवल वक्तव्यको विषय होइन, परिणाममुखी हुनुपर्छ : सभापति देउवा

काठमाडौँ, २८ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नेपालको सीमा अतिक्रमण गरी ज्यादती गरेको उल्लेख गर्दै राष्ट्रवादको प्रश्नमा केवल वक्तव्यको विषय मात्र नभई परिणाममुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।

भारतले नेपाली भू–भाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडकको उद्घाटन गरेपछि त्यसको विरुद्धमा आधिकारिक धारणा प्रस्तुत गरिएको विज्ञप्ती जारी गर्दै सभापति देउवाले सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै कांग्रेसले कडा प्रतिक्रिया जनाउनुभएको हो ।

उहाँले विज्ञप्तीमा भन्नुभएको छ, ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ भन्ने प्रष्ट धारणा राखेको स्मरण गराउँदै सभापति देउवाले सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको विज्ञप्तिमार्फत स्मरण गराउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ ।’