बजेट तयारी : फिल्मले माग्यो अर्बको राहत प्याकेज – Himalayan Dainik

बजेट तयारी : फिल्मले माग्यो अर्बको राहत प्याकेज


बजेट तयारी : फिल्मले माग्यो अर्बको राहत प्याकेज

काठमाडौँ,२० वैशाख – कोभिड–१९ असरले थिलोथिलो परेको नेपाली फिल्मलाई आगामी बजेटमार्फत राहत प्याकेज घोषणा गर्न चलचित्र विकास बोर्डले माग गरेको छ । सदस्य नरेन्द्र महर्जनले बजेट विनियोजन गर्दा राष्ट्रिय प्राथमिकता क्षेत्रको रुपमै उल्लेख गर्न समेत आग्रह गरे ।

४० दिनदेखिको लकडाउनले फिल्ममा पुगेको असर भयावह भएको भन्दै उनले ब्याज मिनाह र राहत प्याकेजसहितको सूचि संचार मन्त्रालयलाई बुझाउने तयारी भएको जनाए । ‘सरकारको ध्यान पनि यसपटक कोरोना बजेटमै हुने भएकाले हामीले पनि फिल्मलाई समेट्न भनेका छौं’ उनले  भने ।

समस्याको सूचि बटुल्न बोर्डले अहिले फिल्म सम्बद्ध संघसंस्थामा पत्रचार गरेको छ । आउँदो साता विवरण टिपेर बोर्डको तर्फबाट सदस्यद्धय महर्जन र दयाराम दाहाल सिंहदरबार जाँदैछन् । ‘अहिले बुझ्ने काम भैरहेको छ र मुख्य माग राहत हामीलाई पनि हुनुपर्छ भन्ने हो’ महर्जनले भने ।

लकडाउनले गर्दा दुईसय फिल्म हल बन्द छन् । दुई हजार भन्दा बढी फिल्मकर्मी बेरोजगार भएका छन् । रिलिज तयारीमा रहेका दर्जन बढी फिल्म रोकिएका छन् । दर्जन फिल्मको सुटिङ ठप्प छ । तलबमा आधा कटौती गर्दै क्यूएफएक्स लगायतका मल्टिप्लेक्सले कर्मचारीको जागिरलाई निरन्तरता दिएका छन् ।

आउँदो दशैंदेखि फिल्मी माहौल बन्नेमा बोर्ड आशावादी छ । ‘फेस्टिभ मुड पनि हुने भएकाले दशैंदेखि माहौल बन्छ कि भनेर कुरेका छौं’ महर्जनले भने, ‘अहिले पुगेको क्षति भयावह छ र चाँडै विवरण यकिन हुनेछ ।’