‘देशको विकासको सरकारले पुरा गर्छ, भक्तपुर विकासको सांसद बस्नेतले पूरा गर्छन’ – Himalayan Dainik

‘देशको विकासको सरकारले पुरा गर्छ, भक्तपुर विकासको सांसद बस्नेतले पूरा गर्छन’


‘देशको विकासको  सरकारले पुरा गर्छ, भक्तपुर विकासको  सांसद बस्नेतले पूरा गर्छन’

भक्तपुर,४ चैत  – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ । संघीय सरकारको चार करोड ५० लाख रुपैयाको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको आज अनुगमन एवं उद्घाटन गर्दै मन्त्री नेम्वाङले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्रीले देखेको देश विकासको सपना हामी सबैले पुरा गर्छौ भन्दै यसका लागि गाउँ गाउँबाट सबैको सहयोग र साथको आवश्यक रहेको बताउनुभयो । देशको विकास गर्ने जिम्मेवारी सरकारले पुरा गर्ने बताउदै मन्त्री नेम्वाङ्गले भन्नुभयो, ‘देशको विकासको जिम्मेवारी सरकारले पुरा गर्नेछ, भक्तपुरको विकास गर्ने जिम्मेवारी महेश बस्नेतले पूरा गर्नु हुनेछ, मैले त उहाँको अभियानमा इँटा थप्ने मात्रै हो, सहयोग गर्ने मात्रै हो, तपाईको जिल्लाले होनाहार नेता पाएको छ, भक्तपुर विकास हुन्छ, ढुक्क हुनुहोस ।’ जडिबुटी कोटेश्वर नाकामा दैनिक हुने जामलाई हटाउन चार लेन अस्थायी सडक निर्माण गर्न ठेक्का गरिसकेको बताउदै मन्त्री नेम्वाङ्गले भन्नुभयो, ‘कोटेश्वरमा स्थायी रुपमा एयरपोर्टबाट अन्डरपास निकालेर जडिबुटी जोड्नु पर्छ, त्यसका प्रारम्भिक काम सुरु भएको छ, जाईकाले अध्ययन सुरु गरेको छ, तीनवर्षमा यो काम सक्ने लक्ष्य लिएका छौ ।’

कार्यक्रममा संघीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले चाँगुनारायणको प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान सुरु भएको बताउदै अबको तीनवर्षमा चाँगुनारायण बिश्व कै उत्कृष्ट शहर बन्ने दाबी गर्नुभयो । ‘एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, सातसय रोपनीमा बीर अस्पताल बन्दैछ, चाँगुनारायण इन्जिनियरिङ्ग कलेज नगरपालिकाले चलाउदैछ, झौखेल चाँगुको ज्योर्तिलिङ्गेश्वरमा ९ करोडको बजेटमा सडक कालोपत्र हुदैछ,’ सांसद बस्नेतले भन्नुभयो, ‘रातो किताबमा भर्खरै २० वटा सडकका योजना थप गरेका छौ, करिब ४५ करोड अर्थ मन्त्रालयबाट थप गरेर भक्तपुरमा ल्याउन सफल भएका छौं ।’

सरकारले भक्तपुरलाई सडकमा जम्मा रु. ३५ करोडको मात्रै सिलिङ्ग तोकेकोमा असन्तुष्ट व्यक्त गर्दै उहाँले सरकारले सडकका लागि कम्तीमा एक अर्ब रुपैया बजेट दिए, यही बजेटमा सबै सडक निर्माण र कालोपत्र गरिदिने बताउनुभयो । उहाँले झौखेल दुवाकोटमा नमूना सडक निर्माण हुन लागेको, खस्याङ्ग खुसुङ्ग खोलामा २० मिटर चौडाको करिडोर निर्माण हुन लागेको, चाँगु ईन्जिनियरिङ्ग कलेज, झौखेल, खरिपाटी, सुडाल ताथली जाने सडकको डिपिआर तयार भएको बताउदै ठूला सडक निर्माण गर्दा ल्याण्ड पुलिङ्गको अवधारणबाट जान सके व्यबस्थित शहर निर्माण हुने र जग्गा धनीलाई पनि मर्का नपर्ने उहाँको भनाई थियो ।

सडक बने पनि बिच बाटोको पोल नहट्ने गर्दा निकै समस्या आएको बताउदै उहाँले पोल सार्ने नाममा प्राधिकरण भित्र व्यापक भ्रष्टाचारको खेलो भएको आरोप लगाउनु भयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो–“सडकमा बिजुलीको एउटा पोल सार्न प्राधिकरण ५ लाखको बजेट लाग्छ भन्छ, सडकको बिचमा भएको त्यही पोल अलि पर सार्न त्यतिका रकम कसरी लाग्छ, हामी एउटा पोल पाँच हजारमा सार्छौ, आवश्यक परे नगरपालिकाले पोल किन्छ, एमडी साहेब सडकमा रहेको देशभरीका पोल नसार्नुको कारण के हो ?” भौतिक योजना मन्त्रालय र शहरी विकास मन्त्रालयका बिच समन्वय नहुँदा पनि समस्या आएको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सडकमा विकासको क्रान्त्री आएको बताउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरकोट सडकले अन्तर्राष्ट्रिय बेईजत भएको भन्दै ठेक्का रद्ध गर्न माग गर्नुभयो ।