फेदिखोलामा असिनापानीले पुर्‍याएको क्षतीको मन्त्री अर्यालद्वारा स्थलगत निरिक्षण, विचलित नहुन आग्रह – Himalayan Dainik

फेदिखोलामा असिनापानीले पुर्‍याएको क्षतीको मन्त्री अर्यालद्वारा स्थलगत निरिक्षण, विचलित नहुन आग्रह


फेदिखोलामा असिनापानीले पुर्‍याएको क्षतीको मन्त्री अर्यालद्वारा स्थलगत निरिक्षण, विचलित नहुन आग्रह

स्याङ्जा, ३ चैत – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जा स्थित फेदिखोला नगरपालिकामा असिनापानी चट्याङले पुर्‍याएको क्षतीको स्थलगत निरिक्षण गर्नुभएको छ । मन्त्री अर्याल आज (सोमबार) फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङ सहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएको क्षतीको निरिक्षण गर्नुभएको हो । 

असिनापानीले ठूलो मात्रामा क्षती पुर्‍याएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गर्नुभएको हो । असिनापानीले क्षती पुर्‍याएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताउनुभयो । 

यस क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरिपनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडी बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गर्नुभएको छ । ‘तपाईहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस क्षतिबाट तपाईहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस् । राज्यले तपाईहरुलाई सहयोग गर्छ ।’ 

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।   

गत शनिवार (चैत १ गते) राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ वडामा क्षती पुर्‍याएको छ । असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो । यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उहाँले बताउनुभयो । ‘२०२४ सालमा अलिअलि आएको थाहा पाउछौ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भए यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयो’, वडाअध्यक्ष शर्माले भन्नुभयो । 

शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । उहाँकाअनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षती भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १,२ वटा घरमा चट्याङ परेपनि क्षति भने भएको छैन ।