वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ – Himalayan Dainik

वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ


वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ

ललितपुर, २४ फागुन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बर्तमान सरकारलाई सफल बनाउन सवै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । प्रवक्ता श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई  सफल बनाउनुपर्ने निश्कर्ष सुनाउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पार्टी निकट पत्रकारहरुलाई आव्हान गर्नुभयो ।

‘बर्तमान सरकारलाई सफल बनाउनै पर्छ, यस्को कुनै बिकल्प छैन,’ प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको आज आयोजित प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो । बर्तमान सरकार असफल भए कुनै न कुनै ढङ्गबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने तथ्यसमेत उहाँले राख्नुभयो । ‘यो सरकार असफल हुँदा नेकपा मात्रै असफल हुँदैन, सिंगो देश असफल हुन्छ, कुनै न कुनै ढंगले बिदेसी हस्तक्षेपको खतरा पैदा हुन्छ, साथै जनतामा चरम निरासा पैदा हुन गई प्रतिगमन पनि हुन सक्छ,’ श्रेष्ठले भन्नुभयो ।

सूचना प्रविधिको विकास सँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै उहाँले समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताउनु भयो । अध्ययन र तथ्यपरक सूचनाको सम्वाहक मात्रै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उहाँले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिनुभयो । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै उहाँले आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने बताउनु भयो । सो अवसरमा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले मानिसको इच्छाशक्ति तिव्र भएको खण्डमा कोरोना भाइरसले केही समस्या उत्पन्न हुन नसक्ने उल्लेख गर्दै उक्त हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जनतामा जानकारी बढाउन प्रेस संगठनले जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले प्रत्येक नेकपामा आवद्ध संगठनका सदस्यहरुले हामी नेकपाका सदस्य हौं भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।यसैगरी पार्टीको केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापाले संगठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टीलाई नै प्रेरणाको स्रोतको रुपमा हुनुपर्ने बताउनु भयो ।