कविताको शिर्षक `छिमेकी´ – Himalayan Dainik

कविताको शिर्षक `छिमेकी´


कविताको शिर्षक `छिमेकी´

संगिताा पनेरू,काठमाडौं

जिजुबाजेको पालाभन्दा
कयौं वर्ष अगाडीदेखिको हाम्रो छिमेकी
किन बारम्बार हाम्रै परिवारमाथि
हमला गरिरहन्छ हँ ?

म सानो छँदा
उसले लालिपप खुवाउँदै सोधेथ्यो
तिम्रो घरमा कोकोेले के के कुरा गर्छन् ?
बा र काका झगडा गर्छन् कि गर्दैन् ?
आमा र काकी बोल्छन् कि बोल्दैनन् ?
दाइहरु अंशबन्डाको विषयमा के भन्छन् ?
लालिपपको गुलियोमा भुल्दै
मैले घरका सबै सबै कुरा
छिमेकीलाई भन्दै गएँ
उनी सुन्दै गए
तर के थाहा
छिमेकीले
मेरो सुन्दर घर भाँडिदिन्छ भन्ने ।

छिमेकीकै कुराले बा र काका
वर्षौँवर्ष नबोलेरै मरेर गए
आज दाईहरु एकआपसमा
दुश्मनी बनिरहेका छन् ।
बाको ज्यूनी कसरी भाग लगाउने
आमालाई कसले पाल्ने
बहिनीको बिहे कसले गरिदिने
यावत कुराहरुमा दाइहरु मनमुटाव गरिरहन्छन्
घरी मिलेको जस्तो गर्छन्
घरी गाउँनै थर्कने गरि चिच्याउँछन्
घरी आफू रुँदै छिमेकी हसाउँछन् ।

दाइहरु लडिरहेका छन्
म र आमा रमिते बनिरहेका छौं
छिमेकी बार्दलीमा बसेर
अर्काे पुस्ताको लागि षडयन्त्र रचिरहेछ ।